HamroNepalDainik.com
समाचार

कलैयामा सोमवारदेखि भौतिकरूपमा कक्षा सञ्चालन

प्रस, वीरगंज, १७ साउन/

कलैया उपमहानगरपालिकामा रहेका सबै तहका कक्षा सोमवारदेखि सञ्चालनमा आउने भएको छ ।

कलैया उपमहानगरपालिकाका उपसचिव प्रह्लादप्रसाद वर्णवालले आधारभूत तहका १ देखि ८ कक्षामध्ये ४ देखि ८ र मावि तहका ९ देखि १२ सम्मको कक्षा विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन गर्न पाउने निर्णय भएको हुँदा सोही अनुरूप सञ्चालन गर्न निर्देशन गरेका छन् ।

नगर कक्षा समितिको साउन १५ गते बसेको बैठकले यी कक्षाहरू भौतिकरूपमा विद्यार्थीहरू उपस्थित गराएर सञ्चालन गर्न निर्णय गरेअनुरूप उपमहानगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन गरिएको छ । विद्यालय सञ्चालन गर्दा कम्पाउन्ड, कक्षा कोठा, शौचालय, प्रयोगशाला विसङ्क्रमित गर्नुपर्ने, शिक्षक–विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, एउटा बेन्चमा एकजना मात्र राख्नुपर्ने र सोअनुरूप कक्षा सञ्चालनमा डेस्क–बेन्चको कमी नभएको खण्डमा सिफ्ट अनुसार कक्षा सञ्चालन गर्ने र घरमा भएका विद्यार्थीहरूको लागि टेलिफोन, अनलाइन, भिडियो कन्फ्रेन्समार्फत अथवा विद्यार्थीहरूको घरमा गई सिकाइ सहजीकरण, गृहकार्य दिने निर्देशन गरिएको छ ।

बारा जिल्लामा सबै तहका विद्यालयहरू सञ्चालनमा आए पनि पर्सा जिल्लामा अहिलेसम्म विद्यालय सञ्चालन हुन सकेको छैन । वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा अनिश्चितकालको लागि जारी भएको छ । तर केही विद्यालय भने निषेधाज्ञामा पनि विनापोशाक सञ्चालन भइरहेका छन् । वीरगंज महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि १२ सम्म भौतिकरूपमा सञ्चालनको निर्देशन गरे पनि जिल्ला सङ्कट व्यवस्थापन समितिले यससम्बन्धी निर्णय नगरेको कारण अहिलेसम्म आधिकारिकरूपमा सञ्चालनमा आउन सकेका छैनन् । तर महानगरका थुप्रै संस्थागत विद्यालय भने यो अवधिमा विनापोशाक भौतिकरूपमा विद्यार्थीहरू राखेर सञ्चालन भइरहेका छन् ।

Related posts

भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार, एकजना पक्राउ

hamronepaldainik

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

hamronepaldainik

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik
HamroNepalDainik