लामो सैनिक जीवनबाट अवकाश लिएपछि बुवा अलि द्विविधामा हुनुहुन्थ्यो । एकातिर उहाँ बाँकी जीवन आफ्नै जन्मस्थल तनहुँको थर्पुमा बिताउने, खेतीपाती गर्दै समाजसेवामा लाग्ने सोचमा रहनुभएको थियो भने अर्कातिर बुढेसकालमा छोराछोरीको पढाइ, हुर्काइ राम्रो होस् भन्ने चाहना पनि थियो ।
त्यस बेलासम्म काठमाडौं बाहिर सीमित ठाउँमा मात्र गुणस्तरीय शिक्षा दिने स्कूल, कलेज थिए । थर्पु वा तनहुँ जिल्लाभर नै राम्रा विद्यालय थिएनन् । त्यसैले केटाकेटीहरूको पढाइ काठमाडौंमा गराउने बुवाको विचार थियो । त्यही द्विविधा बीच आफूले लामो समय भक्तिपूर्वक सेवा गरेका राजासँग बिदा हुन एक दिन बुवा नारायणहिटी राजदरबार जानुभयो ।