HamroNepalDainik.com
राष्ट्रियसमाचार

विकास रणनीति स्पष्ट नहुँदा पूँजीगत बजेट खर्च गर्न चुनौती रहेको : अर्थमन्त्री शर्मा

५ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास रणनीति स्पष्ट नभएकाले पूँजीगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । अर्थ मन्त्रालयले सबै अधिकार आफैंसँग राख्नाले पनि बजेट खर्चमा समस्या रहेको उनले औंल्याए ।

मंगलबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा नै समस्या रहेको बताए ।

‘कसरी हामीले चालु खर्च घटाउने र पूँजीगत खर्च बजेट बढाउने भन्ने एउटा चुनौती त छँदैछ । फेरि पूँजीगत बजेटको खर्च कसरी गर्ने भन्ने अर्को चुनौती पनि सँगसँगै आएको छ,’ उनले भने, ‘समग्र विकास रणनीति नै हाम्रो स्पष्ट छैन । सरकार बदलिँदा, मन्त्री बदलिँदा रणनीति नै बदलिन्छ । त्यसकारणले समस्या यहाँनिर हो ।’

योजना नेतामुखी र मन्त्रीमुखी हुँदा त्यसले समयमा लक्ष्य प्राप्त गर्न नसकेको अर्थमन्त्री शर्माले बताए । ‘मन्त्रालयलाई अर्थ मन्त्रालयले दिनुपर्ने अधिकार त्यो पनि कञ्जुस्याइँ, मन्त्रालयले प्रोजेक्ट प्रमुखलाई दिने अधिकार त्यो पनि कञ्ज्युस्याइँ,’ उनले अगाडि भने, ‘उसले फिल्डमै बसेर त्यहीं तलमाथि गर्न पाओस् न योजना सफल पार्नका लागि । ठाउँमा अधिकार दिने । प्रोजेक्ट प्रमुख छ भने उसलाई अधिकार दिएर पठाउने । राम्रो, नराम्रोको मूल्यांकन गर्ने ।’

अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको जानकारी दिए । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ ।

राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुल्ला गर्नुपर्ने पनि उनले बताए । राष्ट्र र जनताको अहितसँग सम्बन्धित सर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने उनको भनाइ छ ।

Related posts

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अपर्ण

hamronepaldainik

कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट दुई ट्रक रासायनिक मल कब्जा

hamronepaldainik

श्री सत्य साई मधेश प्रदेश समितिकाे आयाेजनामा ४ महिलासहित ४८ जनाले गरे रक्तदान

hamronepaldainik
HamroNepalDainik