HamroNepalDainik.com
राष्ट्रियसमाचार

जनगणना कार्य तीब्र, जातीय आधारमा भाषा सूचिकृत गरिदै

हरिशंकर शर्मा, वीरगन्ज (पर्सा) ।

राष्ट्रिय जनगणना २०७८ का लागि पर्सा जिल्लामा ५ सय ५६ जना गणक खटाइएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित गत कात्तिक २५ गतेदेखि शुरु भएको दोश्रो चरणको मुल जनगणनाको लागि पर्सा जिल्लामा ५ सय ७० जना गणकको दरबन्दी भएपनि ५ सय ५६ जना गणक खटाइएको हो ।

जनगणनाका लागि खटिएका गणकहरुले जिल्लाको सदरमुकामदेखि ग्रामीण भेगका पालिकाहरुमा सर्वसाधारणको घर–घरमा पुगेर तथ्याङ्क संकलन गर्ने कार्यलाई तीब्रता दिएका छन् ।

जनगणनाको पहिलो चरणमा सुपरीवेक्षकले घर सङ्ख्या, परिवार सङ्ख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैंक खाता आदिका बारेमा सामान्य विवरण संकलन गरी घरको सूचीकरण गरिसकेको र सूचीकरण पश्चात् दोश्रो चरणको गणकले जात, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण संकलन शुरू गरिरहेको जिल्ला जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।

जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दरलगायतका तथ्याङ्क संकलन गरिन्छ ।

कात्तिक २५ गते बिहीबारदेखि शुरू भएको जनगणना मङ्सिर ९ गतेसम्म चल्नेछ । जनगणना प्रभावकारी रूपमा गर्नका लागि पर्सा जिल्लामा ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ, भने गणकहरुले गरेको कामको एक सय ४२ सुपरिवेक्षकहरुले सुपरिवेक्षण र जिल्ला जनगणना कार्यालय तथा स्थानीय जनगणना कार्यालयबाट अनुगमन भइरहेको जिल्ला जनगणना अधिकारी ज्ञवालीले जानकारी दिए ।

वीरगञ्ज महानगरमा जिल्ला जनगणना कार्यालय पर्सा र महानगरको लागि परवानीपुरमा अर्को कार्यालय स्थापना गरिएको छ । त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकालाई समेत हेर्ने गरी पर्सागढी नगरपालिकामा कार्यालय स्थापना गरिएको छ ।

ठोरी, जगरनाथपुर, पटेर्वासुगौली र जीराभवानी गाउँपालिकाको लागि जीराभवानीको सेढवामा कार्यालय संचालन गरिएको अधिकारी ज्ञवालीले जानकारी दिए । त्यसैगरि धोबिनी, पकाहामैनपुर, कालिकामाई र छिपहरमाई गाउँपालिकाको लागि कालिकामाई गाउँपालिकाको मुडलीमा कार्यालय स्थापना गरिएको छ ।

यस अघि १ सय ४२ जना सुपरिवेक्षकहरुले पर्सा जिल्लामा ९३ हजार १ सय ४० जनगणना घर सँख्या रहेको सुचिकरण गरेको थियो, भने १ लाख १८ हजार ५ सय १५ घर सँख्या रहेको छ । यसरी नै जनगणना परिवार सँख्या १ लाख १७ हजार ६ सय २१ रहेको जिल्ला जनगणना कार्यालय पर्साले जनाएको छ ।

जाती, धर्मको आधारमा भाषा सुचिकृत गरिँदै

राष्ट्रिय जनगणनाको लागि खटिएका गणकहरु घर–घरमा पुगेपछि धर्म, जातीको आधारमा भाषा छुट्याउने गरेको पाइएको छ । मुलुक धर्म निरपेक्ष राष्ट्र घोषणा भएसँगै सबै जाती समुदायको हक अधिकार सुनिश्चित गरेको छ तर, भाषालाई यहाँ जातीय आधारमा सूचीकृत गराउन दबाब दिने काम भइरहेको पाइएको छ । पर्सा, बाराको अधिकाँश ठाउँको मातृभाषा भोजपुरी रहेकोमा मुस्लिम समुदायका केही व्यक्तिहरुले जातीय सद्भाव खलबलाउने मनसायले जातीय आधारमा भाषा छुट्याउन लगाइरहेको पाइएको छ ।

पर्सा जिल्लामा मुस्लिम समुदायको बसोबास रहेपनि बोलचालको भाषा उर्दु कसैले बोल्ने गरेका छैनन्, पुर्खाहरुको भाषा पनि भोजपुरी नै रहेको छ । तर, धार्मिक संगठनहरुको दबाबमा यथार्थ भन्दा फरक मातृ भाषा र पुर्खाको भाषामा उर्दु लेखाउने गरिएको छ । यहाँसम्म कि वीरगन्ज महानगरपालिकामा खटिएका गणकसँग भाषाको विषयलाई लिएर विवाद समेत उत्पन्न भएको सामाजिक सञ्जालमा भिडियो नै सार्वजनिक भएको छ । कतिपयले समाजिक सञ्जालमा जनगणनामा झेल नहोस् यथार्थमा विवरण संकलन गरियोस् भन्ने सतर्क समेत गराएका छन् ।  साभार : news24

Related posts

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

hamronepaldainik

पर्सा क्षेत्र नं.२(क) को प्रदेश सभा सदस्य उम्मेदवार श्याम पटेल लोकप्रिय बन्दै

hamronepaldainik

भीआईपीहरूको उपचार नेपालमै गर्न समिति गठन

hamronepaldainik
HamroNepalDainik