HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा मोफसलकै पहिलो मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने,

वीरगञ्ज, १५ मंसिर । वीरगञ्जमा आउँदो फागुनमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने भएको छ ।

नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको हो ।

एनवाईइएफले बुधवार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरेर आगामी फागुनको १२ देखि १५ गते आईतबार (२४ देखि २७ फेब्रुअरी २०२२) सम्म प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।

स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि १३० ओटा स्टलको व्यवस्था मिलाइने आयोजकले बताएको छ । प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ ।

प्रदर्शनीको लागि स्टल बुकिङ शुुरू भइरहेको र महिला तथा फरक क्षमताका उद्यमीहरूका लागि स्टलमा विशेष सहुलियत दिइने पनि आयोजकले बताएको छ । नेपाली उद्यमीहरूबीच अनुभवको आदान–प्रदान र अवसरको उपयोगमार्फत देशको आर्थिक विकासको उद्देश्यलाई सघाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले बताए ।

‘उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने अभियानअन्तर्गत प्रदर्शनी आयोजना हुन लागेको हो,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।

प्रदर्शनीका क्रममा उद्यमशीलता र नवप्रवर्तनका विषयमा तालीम, ब्राण्डिङ, कार्यशालालगायतका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । उद्यमशीलता विकासका लागि अध्ययन र अनुसन्धानको अवसर उपलब्ध गराउने, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न प्रोत्साहन गर्ने, उद्यम तथा व्यापार क्षेत्रका नीतिगत र प्रक्रियागत अप्ठेराहरूलाई समाधानको पहल प्रयास गर्ने सन्दर्भमा पनि प्रदर्शनी प्रभावकारी हुने विश्वास आयोजकको छ ।

स्वदेशमा उपलब्ध कच्चा स्रोत र साधनबाट नेपाली श्रम, सीप र ज्ञानको प्रयोग गरी स्वदेशमा उत्पादित बस्तु तथा सेवाको प्रवद्र्धनका लागि वृहत प्रदर्शनीको आयोजना गर्न लागिएको हो । ‘यसबाट आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने छ,’ अग्रवालले भने ।

प्रदर्शनीमा बस्तु तथा सेवाका उत्पादक र ग्राहक बीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ । उपभोक्ताको रुचीअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ ।

लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी बस्तु तथा सेवाको प्रवर्द्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पुर्याउने दाबी आयोजकको छ ।

Related posts

पर्सागढीको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुद्धारा आन्दोलनको घोषणा

hamronepaldainik

वीरगंजमा स्तन क्यान्सर सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न

hamronepaldainik

चुनावी वाचा पुरा गर्दै मेयर सिंह : घरदैलोमै डाक्टर र ल्याब सहितको निशुल्क उपचार सेवा

hamronepaldainik
HamroNepalDainik