HamroNepalDainik.com
समाचारस्थानिय

टेम्पोहरुले क्षमताभन्दा बढी यात्रु बोक्न नछाडेपछि रुट पर्मिट चेकजाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा सञ्चालित तीन पांग्रे टेम्पोहरुले क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्न छाडेका छैनन् । महानगरमा संचालित तीन चक्के टेम्पो तथा ई–रिक्साहरु आफ्नो मापदण्ड भित्र रहेर सवारी संचालन नगर्दा यात्रुहरु मर्कामा पर्ने गरेका छन् । तीन चक्के टेम्पो र ई–रिक्सा सञ्चालनका लागि महानरपालिकाले मापदण्ड बनाएको छ तर टेम्पो र ई–रिक्सा चालकहरुले मापदण्डलाई अटेरी गर्दा वीरगन्ज महानगवासीले दैनिक ट्राफिक जामको समस्या खेप्नु परि रहेको छ भने दुर्घटनाको सम्भावना पनि उत्तिकै बढेको छ ।

वीरगन्ज महानगरपालिकाले पटक पटक मापदण्ड भित्र रहेर सवारी संचालन गर्दा कडाई गर्दा पनि यि सवारी साधन धनी तथा चालकहरुले अटेरी गर्दै क्षमता भन्दा बढि यात्रु बोकी खुलेयाम गन्तव्य सम्म जाने गरेका छन् ।

रुट पर्मिटविनाको टेम्पो कुद्दा महानगरपालिकाले थेग्नुपर्ने टेम्पोको क्षमता भन्दा बढि टेम्पोहरु महानगरपालिका भित्र संचालन भइरहेका छन् । रुट पर्मिट निर्धारण गरेर टेम्पोहरुलाई विभिन्न ठाउँमा डाइभर्ट गर्दा चारैतर्फको यात्रुहरुले आफ्नो गन्तव्य तर्फ सहजै तरिकाले जान पनि सक्ने भने जामको समस्यादेखि सिट क्षमता भन्दा बढी यात्रु बोक्ने समस्या पनि हदैसम्म समाधान हुने थियो तर महानगरपालिकाले रुट पर्मिट लागु गर्नमा ढिलाई गर्नुले पनि सबै टेम्पो एउटै क्षेत्रमा संचालन हुने गरेको र सिट क्षमता भन्दा बढि यात्रुहरु बोक्ने गरेका छन्, जसका कारण दुर्घटनाको सम्भावना बढेको छ ।

अर्कोतर्फ जथाभावी पार्किङ्ग, रुट पर्मिट विना सयौं टेम्पो सहरको मुख्य सडकमा कुद्नु तथा लाइसेन्स विनाको चालकले टेम्पो चलाउने गरेको कारण महानगर लगायत जिल्लामा दुर्घटनाको संख्यामा वृद्धि भएको छ । वीरगन्ज महानगरपालिकाको रजत जयन्ती चोकदेखि बसपार्क, लक्षमणवा, पावरहाउस चोक हुँदै जिल्लाको ग्रामीण क्षेत्रमा तीनचक्के टेम्पो कुद्ने गरेको छ । ति टेम्पोहरुमा सिट क्षमता भन्दा बढी यात्रुहरुलाई बसाएर यात्रा गर्ने गरेको कारण दुर्घटनाको सम्भावना पनि बढेको छ । सहरको मुख्य सडकमा टेम्पो चालकहरुले अगाडि सिटमा २ देखि ३ जना यात्रु बसाई एउटा खुट्टा बाहिर राखि टेम्पो चलाउने गरेका छन् भने टेम्पो भित्र सिट क्षमताको डेढ देखि दुई गुणा बढिसम्म यात्रु राखेर टेम्पो चलाउने गरेका छन् ।

वीरगन्ज घण्टाघर छेउमा रहेको पार्कबाट ग्रामीण भेगको लागि छुट्ने टेम्पोहरुले पनि सिट क्षमता भन्दा बढि यात्रु बोक्ने गरेका छन् । ग्रामीण भेगको खाल्डाखुल्डी सडकमा क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको कारण दुर्घटना पनि वृद्धि भएको छ । वीरगन्ज महानगर लगायत जिल्लाका ग्रामीण भेगमा तीन चक्के टेम्पो चलाउने चालकले कुनै किसिमको ऐन नियमको पालना गरेको पाइँदैन । कोरोना संक्रमण महामारीलाई मध्यनजर गर्दै प्रशासनले पनि भीडभाड नगर्नु भनेर सूचना जारी नै गरि रहेको अवस्थामा टेम्पो चालकहरुले सिट क्षमता भन्दा बढि यात्रु बोकेर धक्काधुक्की गरि गन्तव्यसम्म पुग्ने गरेका छन् ।

यातायात व्यवस्थापन कार्यविधि ऐन कागजमै सीमित

महानगरपालिका भित्र चल्ने तीन चक्के टेम्पो संचालनको लागि महानगरपालिको २०७६ सालमा नै ऐन निर्माण गरेको छ तर त्यो कागजमा मात्रै सीमित रहेको छ । महानगरपालिकाले यातायात तथा सवारी व्यवस्थापन कार्यविधि २०७६ ल्याएको दुई वर्ष वित्न लाग्दा पनि त्यसले ल्याएको ऐन कार्यान्वयन हुन सकेको छैन । महानगरले ल्याएको कार्यविधिको ८ नं। बुंदामा वीरगन्ज महानगरपालिका भित्र भाडामा चल्ने प्रत्येक सार्वजनिक सवारी साधनहरुले तोकिए बमोजिमको शुल्क तिरी रुट इजाजत लिनु पर्नेछ । महानगरपालिकाको रुट इजाजत पत्र विना सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भनेर प्रष्ट उल्लेख गरिएको छ तर हालसम्म महानगरपालिकाभित्र चल्ने कुनै पनि टेम्पोले रुट इजाजत लिएको छैनन् र खुलेयात्र महानगरपालिका भित्र टेम्पो चलाउने गरेका छन् ।

ऐन कार्यान्वयन गराउन महानगरलाई परमादेश वीरगन्ज महानगरपालिको निर्माण गरेको ऐनलाई कार्यान्वयन गर्न गराउन उच्च अदालतको अस्थायी इजलास वीरगन्जले परमादेश नै जारी गरेको छ । वीरगन्ज महानगरपालिका कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई विपक्षी बनाई उच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जका न्यायधीशद्वय कृष्ण बहादुर थापा र अन्जु उप्रेती ढकालको संयुक्त इजलाशले परमादेश जारी गरेको छ । उच्च अदालतले जारी गरेको परमादेशमा वीरगन्ज महानगरपालिका क्षेत्रभित्र संचालित तीन पाँग्रे सवारी साधनमध्ये अधिकाँश सवारीसाधन दर्ता नगरी संचालन भइरहेको, जहाँ पायो त्यहाँ यात्रुहरु ओराल्ने, चढाउने तथा सिट क्षमता भन्दा बढि यात्रुहरु राखेर सवारी चलाउने गरेको कारण महानगर क्षेत्रमा दुर्घटनाको संख्या वृद्धि भएको हुनाले त्यस्ता सवारी साधनहरुलाई संचालन हुन नदिन, तोकिएको सिट क्षमता भन्दा बढि यात्रुहरु नराख्नु, राख्न नलगाउनु, त्यस्ता सवारी साधनको रुट निर्धारण गरि भाडा दर तोक्नु, तोक्न लगाउनु, त्यस्ता सवारी साधनको लागि निश्चित क्षेत्र तोकी स्टोपेजहरु तोक्न लगाउनु भनेर विपक्षीको नाममा न्याय प्रशासन ऐन, २०७३ को दफा ८ (१) बमोजिम परमादेश आदेश जारी गरेको ठहर्छ भनि उल्लेख गरिएको छ ।

रुट पर्मिट चेकजाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन

वीरगन्ज महानगरपालिकाले रुट निर्धारण गर्न र रुट पर्मिट जारी गर्न ऐन निर्माण भएदेखि नै कसरत गरि रहेको छ तर हालसम्म लागु हुन सकेको छैन । महानगरपालिकाले यही माघ १३ गते चलानी नं. ५८५२/०७८/०७९ को पत्र मार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई मापदण्ड बाहिर रहेर संचालन भइरहेको टेम्पो तथा ई–रिक्सा संचालनमा रोक लगाउन निर्देशन दिएको छ ।

महानगरपालिका सवारी शाखा प्रमुख विजय कुमार गुप्ताद्वारा हस्ताक्षर गरि पत्राचार गरिएको पत्रमा ‘वीरगन्ज महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका ई–रिक्सा, अटो–रिक्सा, टेम्पोका सवारी साधन वा सवारीचालकलाई माघ १० गतेसम्म अस्थायी स्टिकर वितरण गरिने सो प्राप्त गर्नको लागि सम्बन्धित प्रा।लि।द्वारा मिति २०७८ माघ २ गते अन्तिम पटकको लागि पत्राचार गरिएकोमा तोकिएको समावधि भित्र न्यून सवारी साधनहरुको मात्रै स्टिकर लगेको र बाँकी सवारी साधनहरुले महानगरपालिकाको अनुरोधलाई बेवास्ता गरेकोले रुट एवं स्टिकर नभएका तीनपाँग्रे सवारी साधनहरुलाई नगर प्रहरी एवं ट्राफिक प्रहरीको संयुक्त टोलीद्वारा चेकजाँच गरि आवश्यक कारवाही गर्नुपर्ने भएकोले सोही बमोजिम कारवाही प्रक्रिया अगाडि बढाई दिनुहुन निर्देशनानुसार अनुरोध छ’ भनेर उल्लेख गरिएको छ ।

Related posts

वीरगञ्ज महानगपालिकाले बहिरङग सेवा सञ्चालन गर्ने तयारीमा

hamronepaldainik

जनमत : बिरगंज महानगरपालिकाको नगर अधिवेशन सम्पन्न

hamronepaldainik

भारत भ्रमणमा गएका पर्साका पत्रकारहरूलाई पन्जाबको मोगामा सम्मानसहित बिदाई

hamronepaldainik
HamroNepalDainik