HamroNepalDainik.com
समाचार

बैंकले कर्जा लगानीमा रोक लगाएपछि नयाँ सवारीसाधन आईसिपिमै थन्कियो

वीरगन्ज (पर्सा), ३१ जेठ /

नयाँ गाडीमा बैंकले लगानी गर्न रोक लगाएपछि भारत तथा तेश्रो मुलुकबाट आयातित नयाँ गाडीहरु आई.सि.पि. यार्डमै थन्किएको छ । विगत तीन महिनादेखि बैंकहरुले कर्जा लगानीमा रोक लगाएपछि भारत तथा तेश्रो मुलुकबाट आयातित हेभी गाडीहरुको चेसिस एकिकृत जाँच चौकी (आई.सि.पि.) यार्डमै थन्किएको हो ।
हाल आई.सि.पि. यार्डभित्र ठुलठुला गाडीहरुको चेसिस भरिभराउ छ । ठूला गाडीको चेसिसको मुख्य आयातकर्ता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख पार्थ राणाका अनुसार बैंकले गाडी कर्जामा रोक लगाएपछि आयातित गाडीहरु जाँचपास हुन नसकेको बताए । उनले सबैले बैंकबाट कर्जा लिएर नै गाडी किन्ने हो, बैंकले कर्जा दिइरहेको बखत अर्डर गरिसकेका गाडीहरु आइसकेका छन् तर बैंकले कर्जा लगानीमा रोक लगाएपछि आयातित गाडीहरु पनि जाँच पास हुन नसकेर आई.सि.पि.मै थन्केको बताए ।
लग्जरी तथा कारहरु हुनेखानेहरुले किन्ने गर्छन् तर ट्रक टिपर जस्ता मालसामान ढुवानी गर्ने गाडीहरु सर्वसाधारणले बैंकको सहयोगमा धितो राखेर किन्ने गरेको कारण बैंकले नै कर्जा लगानीमा रोक लगाएपछि गाडीहरु आयात भएर पनि जाँच पास हुन नसकेको राणको भनाई छ । सर्वसाधारणले गाडी खरिद गर्दा बैंकले धितो राखेर ५० देखि ७० प्रतिशतसम्म लगानी गर्ने गरेको छ । विगत तीन महिनादेखि बैंकहरुले कर्जा लगानी गर्नमा रोक लगाएपछि यस्तो समस्या उत्पन्न भएको हो । यसबाट सवारी खरिदकर्ता भन्दा पनि आयातकर्ता कम्पनीहरु ठूलो मर्कामा परेको प्रमुख राणाको भनाई छ ।

पैसा अभावमा गाडीहरु जाँच पास हुन नसकेपछि आई.सि.पि. यार्डमा १४ सयको हाराहारीमा नयाँ गाडीहरु थन्केको छ । आईसिपिमा सिप्रदी टे«डिङ्ग प्रा.लि.को मात्रै ९ सय भन्दा बढिको हाराहारीमा गाडीहरु थन्केको छ । सिप्रदिले प्रतिदिन २ करोडको हाराहारीमा भाडा मात्रै तिर्नु परेको प्रमुख राणको भनाई छ । उनका अनुसार गाडी आईसकेपछि आईसिपिले आफ्नो भाडा लिन्छ नै, त्यसमा पनि समयमा गाडी जाँच पास हुन नसकेपछि दिन बढेसँगै दोब्बर, तेब्बर ब्याज बढ्दै जान्छ, जसबाट आयातकर्ता कम्पनीलाई ठूलो घाटा व्यवहोर्नुपर्ने हुन्छ उनले भने । नेपाल सरकारले कर्जा लगानी फुकुवा गरेपछि मात्रै सवारीसाधनहरु जाँच पास हुन सक्ने उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकले बचत भन्दा पनि कर्जा लगानी बढि भएपछि सम्पूर्ण कर्जा लगानीमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनानुसार फागुन गत २०७८ फागुन महिनादेखि बैंकहरुले कर्जा लगानीमा रोक लगाएपछि गाडी आयातमा मात्रै नभई व्यापार, व्यावसाय तथा घर निर्माण कार्य पनि अवरुद्ध भएको छ । सिप्रदी लगायत युनाइटेड ट्रेड सिन्डिकेट प्रा.लि., जियो मोटर्स प्रा.लि., ओमनी मोटर्स प्रा.लि. लगागतका आधिकारिक विक्रेता डिलरहरुले भारत तथा तेश्रो मुलकबाट हेभी गाडी तथा चेसिसहरु आयात गर्ने गरेको छ ।
अर्कोतर्फ नेपाल सरकारले आर्थिक वर्ष २०७९÷०८० मा सवारी साधनमा अन्तः शुल्क बढाउने घोषणा गरेपछि पनि केही गाडीहरु भन्सार जाँच पास हुन सकेको छैन । नेपाल सरकारले आगामी आर्थिक वर्षमा ३००० सिसिदेखि माथिका गाडीहरुमा ५ देखि १५ प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गरेपछि नयाँ गाडीको भन्सार जाँचपास रोकिएको हो । अन्तःशुल्कले पनि समस्या उत्पन्न भएको हो, तर यो खासै समस्या होइन, मुख्य समस्या भनेको बैैंकले कर्जा लगानीमा रोक लगाएकोले यस्तो समस्या उत्पन्न भएको सिप्रदि ट्रेडिङ्गका प्रमुख राणको भनाई छ ।

मुलुककै सर्वाधिक सवारीसाधन भित्रिने नाका वीरगन्ज स्थित आईसिपि नै हो । यो नाका भएर भित्रिने ३ सयदेखि ४ सय नयाँ सवारी साधनहरु आईसिपिमा हुन्थे, तर अहिले यो सँख्या तेब्बर पुगेको छ । भन्सार यार्डमा करिब १ हजारको संख्यामा बस, ट्रकका चेसिस, करिब ३ सयको संख्यामा जीप, कार, भ्यान र दुई दर्जनको संख्यामा ट्याक्टरहरु छन् ।
यता एकिकृत जाँच चौकी भन्सारका सूचना अधिकारी सुमित गुप्ताले आयातित गाडीहरुलाई सम्बन्धित आयातकर्ता कम्पनीहरुले जाँच पास गराउन नै नआएकोले थन्किएको बताए । के कारणले जाँच पास गराउन नआएको भन्नेबारे भन्न नसकिने भन्दै सूचना अधिकारी गुप्ताले आयातकर्ता कम्पनीहरुले जाँजपास प्रक्रियाको लागि कुनै किसिमको कागज नै पेश नगरेकोले यार्डमै थन्किएको बताए ।

 

Related posts

संविधान दिवसमा वीरगञ्ज कारागारबाट २४ जना कैदी रिहा

hamronepaldainik

सनराईज बैँक बिन्दवासिनी शाखा द्वारा विद्यालयलाई फर्निचर सहयाेग

hamronepaldainik

पटेलको अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साको २७ सदस्यीय कार्य समिति चयन

hamronepaldainik
HamroNepalDainik