१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गरेकी छन् ।
दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ ।
यस वर्ष पनि हिन्दु नारीहरुले हर्षोल्लासका साथ तीज मनाएका छन् । मंगलबार देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । मंगलबार महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ । सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको यो पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ ।
मंगलबार तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ । अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।साभारonlinekhabar