HamroNepalDainik.com
समाचारस्थानिय

तराईमा चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

वीरगन्ज , ९ पुस / विगत एक हप्तादेखि तराईमा बढेको शितलहरीसँगै कठ्याँग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिकी जीवन कष्टकर बन्दै गएको छ । दिनभरि बाक्लो हुस्सुसँगै शितलहरी पर्ने गरेको कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढि प्रभावित बनेका छन् । दिनभरि काम गरि एक छाक टार्ने गरिब, निमुखा परिवारहरु अहिले आगोको भरमा दिनचर्या विताउन बाध्य छन् । विहानदेखि बेलुकासम्म कठ्याँग्रिदो चिसो लाग्ने गरेको कारण दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन विताउने गरेको उनीहरुको भनाई छ ।
दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण सानासाना बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित भएको उनीहरुको भनाई छ । ग्रामीण भेगका गरिब परिवारहरु फुस, खपडाको छाप्रोमा बस्ने परिवारका ससाना बालबालिका एवं वृद्धवृद्धाहरु बढि प्रभावित छन् । चिसो बढेसँगै लुगा कपडाको अभावको कारण आगोको भरमै दिनचर्या विताउने गरको छन् भने भने रातिको समयमा सुत्ने बेलामा परालले बनाएको चटाईको भरमा रात विताउने गरेको उनीहरुको भनाई छ । रातिको समयमा बाक्लो हुस्सुसँगै शितलहरी पर्न थालेपछि शितलहरीको पानी ओछ्यानसम्म आउने गरेकोले सुत्नमा पनि समस्या हुने गरेको उनीहरुको भनाई छ ।

दिनभरि आगोलाई समातेर बस्नुपर्ने अवस्था छ, हिँड्न सक्ने अवस्था छैन । जीउमा लगाउने कपडा छैन, खुट्टामा जुत्ता छैन, चप्पल छैन, हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयहरुको भनाई छ । चिसोले गर्दा काम गर्न पनि समस्या भएको छ । यत्रो चिसो बढिसकेको छ, हालसम्म कसैले एउटा कपडा पनि उपलब्ध गराएको छैन, दाउरा पनि उपलब्ध गराएको छैन भन्दै उनीहरुले पराल एवं फोहरहरुलाई जलाएर आगो ताप्दै दिन विताउने गरेको उनीहरु बताउँछन् ।
शितलहरीले गर्दा हात खुट्टा काम्ने गरेकोले बाहिर निस्केर दैनिक ज्यालादारीमा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ । चिसोको समयमा एक त दिन सानो हुने गरेको त्यसमा पनि ११ बजेभन्दा अघि घरबाट निस्कने सक्ने अवस्था नरहेकोले पुरा समय काम पनि गर्न नसकेको उनीहरुको भनाई छ । चिसोले खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने गरिब, मजदुरहरु प्रभावित हुने गरेका छन् । विहानदेखि साँझसम्म काम गरेर साँझ छाकटार्ने गरिब, दलित परिवारका सदस्यहरु अहिले दैनिक रुपमा काममा पनि जान नसकेको बताउँछन् ।

यसो त यि उदाहारणका पात्र मात्रै हुन् । पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको अधिकाँश गरिब, दलित परिवारहरु चिसोले प्रभावित छन् । सम्बन्धित स्थानीय निकायले हालसम्म चिसोबाट बच्नको लागि कुनै किसिमको सहयोग गर्न सकेको छैन । जिल्ला स्थित विपद् व्यवस्थापन समितिले चिसोबाट सर्वसाधारणलाई बचाउनको लागि कुनै किसिमको पहल गरेको छैन । सम्बन्धित स्थानीय निकायहरु प्नि खासै चासो देखाएको पाइँदैन । पर्सामा १४ वटा पालिका रहेतापनि वीरगंज महानगरपालिका बाहेक अन्य पालिकाले चिसोबाट गरिब, निमुखा परिवारलाई बचाउनका लागि कुनै किसिमको पहल गरेको पाइँदैन ।

वीरगंज महानगरले सम्पूर्ण वडामा दाउरा वितरण गर्ने
कठ्याँग्रिदो जाडो बढेसँगै वीरगंज महानगरपालिकाको ३२ वटै वडामा आगो ताप्ने व्यवस्था मिलाउन दाउरा वितरण गर्ने भएको छ । बहीबार बिहान बसेको महानगरपालिकाको विपद व्यवस्थापन समितिको नगर स्तरीय बैठकले ३२ वटै वडाका आवश्यक स्थानको पहिचान गरि जाडोबाट बँच्न आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
सम्बन्धित वडाअध्यक्षहरुको समन्वयमा महानगरपालिकाले आवश्यक परेका स्थानमा आगो बाल्न दाउरा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ । बैठकले बजार क्षेत्रलाई मध्यनजर गर्दै रातमा सडक तथा चौरमा खुला आकाशमुनी रात विताउन बाध्य भएका अति विपन्नहरुलाई जाडो महिनाभर राति सुत्नका लागि बसेराको निर्माण गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले अतिविपन्न, ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कपडा उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले जाडो सुरु भइसकेकाले अब छिट्टै चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन आफूहरुले काम गरिरहेको भन्दै तत्काल आवश्यक स्थानको पहिचान गरेर जानकारी दिन वडाअध्यक्षहरुलाई आग्रह गरेका छन् । तराईमा कठ्याँग्रिदो जाडा शुरु भइसकेकोले १÷२ दिनभित्रै पहिचान गरिएका स्थानहरुमा दाउरा खसाल्ने काम शुरु हुने बताए । महानगरपालिकाले डिभिजन वन कार्यालयसँग आवश्यक दाउरा माग गरेको र अहिले वन कार्यालयले ८ चट्टा दाउरा उपलब्ध गराउने भएकोले सोही दाउरालाई पहिचान गरिएको स्थानहरुमा पठाउने बताए । वन कार्यालयबाट उपलब्ध दाउरा र महानगरले नै विभिन्न स्थानबाट संकलन गरेको ६ ट्रक रुखका जराहरु आवश्यक परेका ठाउँमा आगो बाल्न उपलब्ध गराउने पनि उनले बताए । जाडो महिनामा नै आगलागी जस्ता घटना पनि हुने भएकाले त्यसतर्फ सचेत भएर आगो बाल्न मेयर सिंहले आग्रह गरे ।
तराईमा वर्षेनी शितलहरीका कारण दर्जनौं व्यक्ति ज्यान गुमाउने गरेका छन् । अहिलेको अवस्थामा यि गरिब परिवारका वृद्धवृद्धाहरुको जिउने आधार आगो मात्रै छ । यिनीहरु २ देखि ३ वटा कपडामा आफ्नो दिनचर्या विताई रहेका छन् । दिन रात बालेको घुर (आगो) तापी आफ्नो जीवन विताई रहेका छन् । एक छाक खानाको व्यवस्था भए अर्को छाक खानाको चिन्तामा बस्ने यि दलित परिवारहरुलाई राहतको बढि आवश्यक्ता छ ।

Related posts

श्रीलंकासहित ३२ मुलुकमा भेटियो ओमिक्रोन भेरियन्ट

hamronepaldainik

१७५ किलो लागुऔषध गाँजा र ट्रक सहित दुई जना पक्राउ

hamronepaldainik

वीरगञ्जलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

hamronepaldainik
HamroNepalDainik