HamroNepalDainik.com
समाचारस्थानिय

भारतीय बजारका कारण मारमा उपभोक्ता

पोखरिया, २६ माघ (रासस) ः नेपाली धानको मूल्यवृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपाली धानको मूल्य गत वर्षको तुलनामा यसपाली प्रतिक्विन्टल तीन सय रुपैयाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका छन् ।
भारतले धान निकासीमा कोटा लगाएसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपाली धानको मूल्य पनि गत वर्षको तुलनामा यसपाली प्रतिक्विन्टल तीन सय रुपैयाँसम्मले बढेपछि किसानले सामान्य राहत पाएका छन् ।
धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपैयाँ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ रुपैयाँ र ९० रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ९० रुपैयाँ पुगेको छ ।
धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान मारमा पर्दै आएको गुनासो छ । यसपाली भने केही भए पनि राहत पाएको वीरगञ्ज वडा नं ३० लालपर्साका किसान सीतारामप्रसाद, धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले कम नै हुने गरेको भए पनि यसपाली भने थोरै भए पनि खुसी भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “म अहिले ६५ वर्षभन्दा माथिको उमेरका भए, करिब १६ वर्षको उमेरदेखि धानखेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ । तर फसल राम्रो उब्जाउन खाद्य समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने आफ्नो देशमा नपाइने अवस्था छ । विजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलिकति भए पनि धानको मूल्यवृद्धि हुँदा खुसी नै छौँ हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।”
अर्का पर्साको सबैठवा–४ की किसान किसमतीया देवीले भन्नुहुन्छ, “धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद्य पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि त भएको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।
धानको मूल्यवृद्धि हुँदा एकातिर किसानले खुसी व्यक्त गरेका छन् भने अर्कोतर्फ चामलका उपभोक्ता भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल तीन सय रुपैयाँसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म मूल्यवृद्धि भएका कारण आफूहरु मारमा परेको उपभोक्ताले गुनासो गरेका छन् ।
वीरगञ्ज महानगर वडा नं १२ मूर्लीकी सरिता देवी कुर्मीले चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्नुहुन्छ । भारतले नेपालका लागि चालू वर्षमा छ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेका कारण भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढ्दा चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् ।
नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले भारतर्फले गत वर्षदेखि समर्थन मूल्य पाँचदेखि छ रुपैयाँ बढाएर बिक्री गर्ने गरेको र भारततर्फबाट धान, चामल नेपालतर्फ आयात गर्दा त्यसमा नै भन्सार कर र भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने कारणले मूल्यवृद्धि भएको अवस्था रहेको बताउनुहुन्छ ।
उहाँले अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारततर्फ नै निर्भर रहेको र नेपालतर्फको बजारमा पनि भारततर्फकै धान, चामलको समर्थन मूल्यले ठाउँ लिँदा यस्तो अवस्था सिर्जना भएको भन्नुहुन्छ ।
गत वर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय थियो भने हाल तीन हजार एक सय रुपैयाँ छ । त्यही धानको मूल्य भारतमा तीन हजार दुई सय ५० रुपैयाँ रहेको अर्थात् नेपालको धान, चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको सुबोध गुप्ताको भनाइ छ ।
चालु आवको हालसम्म वीरगञ्ज नाकाबाट १९ हजार आठ सय १ मे.टन अर्थात् एक अर्ब ५० करोड ५५ लाख बराबरको भारततर्फबाट आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा छ भने धान एक लाख ९४ हजार ८१ मे.टन अर्थात् छ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

Related posts

उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

hamronepaldainik

हिमालयन बैंकले गरिब तथा निमुखा वर्गहरुलाई टि–शर्ट वितरण गर्दै

hamronepaldainik

बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन चिकित्सक र स्वास्थ्यकर्मीलाई मेयर सिंहको सुझाव

hamronepaldainik
HamroNepalDainik