२५ फागुन, वीरगञ्ज । बाराको सिमरामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ । तीन जना मध्यम घाईते छन् भने बाँकीको अवस्था सामान्य छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ४५ वर्षीया राजकुमारी रामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
सामान्य घाइतेहरुको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको छ । त्रिभुवन राजपथको वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत सिमरामा बिहीबार दिउँसो वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख २१४८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ को कार्यालय अगाडि सडकमा बाटो काट्दै गरेका साईकल यात्रीलाई जोगाउन खोज्दा बस अनियन्त्रित भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि बसको चालक फरार छन् । अरनिको यातायातसँगको समन्वयमा बसका चालकको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।