वीरगंज २८ फागुन । बैंकहरुको चर्को ब्याजदरका कारण उद्योग व्यपार टाट पल्टने अवस्थामा पुग्दा समेत सरकार र राष्ट्र बैंक मुकदर्शक बनेर बसेको वक्ताहरुले आरोप लगाएका छन् ।
वीरगंज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधरणसभामा बोल्दै उद्योगी व्यपारीले कोरोना महामारीले थलिएको नीजी क्षेत्र विस्तारमै लयमा फर्कदै गरेका बेला अहिले बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुरयाएका कारण नीजी क्षेत्र फेरि संकटमा परेको बताए । वीउवासंघको सभाहलमा आयोजित साधारणसभामा उनिहरुले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा नझारे काठमाण्डौमा मात्र नभइ देशभरमै उद्योगी व्यवपारी सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।साधरणसभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चर्को ब्याजदरका कारण उद्योग व्यवसाय टाट पल्टने अवस्थामा पुगिरहेका बेला राष्ट्र बैंकका गर्भनर भने हाँसेर बसेको आरोप लगाए ।
उद्योग व्यपारीको समस्या बारे सरकार र राष्ट्र बैंकका गर्भनर जानकार भएरपनि बुझ पचाएर रमिते मात्र बनेको आरोप उनले लगाए । त्यसका कारण उनिहरुलाई दबाब दिन सडक आन्दोलनमा उत्रिन उनले देशभरका उद्योगी व्यपारीलाई आह्वान पनि गरे । श्रेष्ठले भने, ‘चर्को ब्याजदरले हामीलाई परेको अप्ठेरो बारे सबै जानकार छन्, तै पनि उनिहरु बुझ पचाएर बसेका छन्, यदि बुझेर पनि काम नगर्ने हो भने अहिले सरकारको नेतृत्व गरिरहेकाहरुलाई पनि सरकारमा बस्ने कुनै अधिकार छैन ।चर्को ब्याजदर विरुद्ध अहिले काठमाण्डौ केन्द्रित आन्दोलन भइरहेकोमा अब सोमबार देखि भने देशव्यापी रुपमा अर्को चरणको आन्दोलन महासंघले घोषणा गर्ने उनले बताए । उनले भने,‘ अबको आन्दोलन राष्ट्र बैक देखि संसद भवन घेराउ सम्मको हुनेछ ।
वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माले सरकार र राष्ट्र बैंकले उद्योगी व्यपारीलाई पिडा मात्रै दिने काम गरिरहेको बताए । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले पनि राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा नझारे उद्योग व्यपारी टाट पल्टिएर सडकमा पुग्ने बताए । उनले भने, ‘यदि नीजी क्षेत्र टाट पल्टियो भने मुलुकको अर्थतन्त्र पनि धराशायी हुन्छ, यो कुरा सरकारको नेतृत्कर्ता र गर्भनरले बुझे हुन्छ ।
साधरणसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य अजय चौरसियाले अहिले देशैभरका उद्योगी व्यापारीहरुले खेपिरहेको समस्याका बारेमा आफुले संसद बैठकमा आवाज उठाउने आश्वासन दिए । संघका अध्यक्ष गुप्ताको अध्यक्षता थतथा वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको साधरणसभालाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बंजारा लगायतकाले शुभकामना मनतव्य राखेका थिए ।