HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्ज महानगर : बजेटमा सबैको अपनत्व दिलाउने प्रयास

वीरगञ्ज, ५ असार वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रमका लागि यहाँका राजनीतिक दलका प्रतिनिधिसँग सुझाव लिनु भएको छ ।

आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सोमबार सबै राजनीतिक दलका प्रतिनिधिबाट राय सुझाव लिइएको महानगर प्रमुख सिंहले बताउनुभयो । बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको महानगरले बजेटमा सबैको अपनत्व बनाउन यहाँ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिसँग राय सुझाब लिएको हो । वीरगञ्ज बनाउन सबै लाग्नु पर्ने भएकाले बजेटमा सबैको सुझाव र सल्लाह समेट्न खोजिएको महानगर प्रमुख सिंहले बताउनुभयो । राजनीतिक दलका प्रतिनिधिहरुले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय दिएका छन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठले ट्राफिक समस्या समाधान गर्न विभिन्न स्थानमा स्काई बिज्र बनाउनु पर्ने, पछि जोडिएका वडाहरुमा सडक संजाल विस्तार गर्नुपर्ने लगायतका सुझाव दिनुभयो । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद यादवले अहिले पानीको विकराल समस्या देखिएकोले यसको समाधानका लागि दीर्घकालिन उपाय खोज्न आग्रह गर्नुभयो ।

नेकपा एसका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीले सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर सुझाव लिने परम्परा थालेकोमा महानगरप्रमुख सिंहलाई धन्यवाद दिनुभयो । उहाँले वीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदी सफाईलाई प्राथमिकता दिँदै नदीको राइट अफ वे छुट्याएर करिडोर निर्माण गर्न आग्रह गर्नु भयो ।

जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफले स्थानीय सरकारले स्थानीय उत्पादनको पहिचान गरेर ब्राण्डिङ गर्दै आयआर्जनलाई व्यवसायिकरण बनाउने गरि बजेट व्यवस्था गर्न माग गर्नुभयो । महानगरले गर्ने काम परदर्शी हुनु पर्ने भन्दै उहाँले जनसंख्या र भूगोलको आधारमा वडामा बजेट विनियोजन गर्न पनि सुझाव दिनुभयो ।

जसपाका नगरकमिटी अध्यक्ष इश्वरचन्द्र यादवले पानीको समस्या समाधान गर्न घरबाट निस्कने पानी सोझै नालामा नभई भूमिगत पानीको पुनर्भरणका लागि घरमा व्यवस्था मिलाउन पर्ने सुझाव दिनुभयो । महानगर प्रमुख सिंहले वीरगञ्जको विकास र समृद्धिका लागि हरेक महिना सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै आउनुभएको छ ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको सहभागिता रहेको थियो ।

Related posts

उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

hamronepaldainik

बिन्दवासिनीकाे विद्यालयमा अध्यक्ष र प्र. प्र. अधिकृतकाे छड्के अनुगमन

hamronepaldainik

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ ः मेयर सिंह

hamronepaldainik
HamroNepalDainik