HamroNepalDainik.com
समाचार

जसपालाई फकाउन संसदीय दलको बैठकमै पुगेका थिए प्रधानमन्त्री

१३ असार, काठमाडौं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पास गर्‍यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मत विभाजन मागेपछि भएको मतदानमा बजेटको पक्षमा १४७ मत खसेको छ ।

प्रतिनिधिसभाका कुल २७५ सदस्य (दुई निलम्बितसहित) मध्ये २५५ मतदानमा सहभागी भएका थिए । उनीहरुमध्ये १०८ जनाले विपक्षमा मत दिएका छन् ।

बजेट पास गर्न चाहिने बहुमत जुटाउन भने प्रधानमन्त्री प्रचण्डले निकै मिहिनेत गर्नुपर्‍यो । बजेटलाई लिएर सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीका सांसदहरु असन्तुष्ट थिए ।

कांग्रेस र माओवादीले सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दा पनि सत्ता गठबन्धनकै अरु दलले निर्णय गरेका थिएनन् ।

बुधबार विहान एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्‍यो । सिंगापुर भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै शुक्रबार प्रचण्ड, देउवा र माधवकुमार नेपालबीच छलफल भएको थियो । त्यो छलफलमा प्रधानमन्त्री प्रचण्डले बजेट संशोधन नगरी मिलाउन सकिनेसम्म मिलाउने र बजेट सन्तुलित बनाउने वचन दिएका थिए ।

जसपाले भने बुधबार मध्यान्ह संसद बैठकस्थल नजिकै संसदीय दलको बैठक राखेको थियो ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिइरहँदा जसपा सांसदहरुले भने बजेट सन्तुलित नभएको भन्दै संसदीय दलमा विरोध गरिरहेका थिए । एक सांसदका अनुसार जसपा नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई संसदीय दलको बैठकस्थलमै आउन आग्रह गरे ।

संसदमा सम्बोधन सकिएपछि प्रचण्ड जसपा संसदीय दलको बैठक बसिरहेको संघीय संसद भवनकै शंकर हलमा पुगे । उनले अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवका साथै सबै सांसदहरुसँग एक एक गरी सम्वाद गरे । ‘बजेट सन्तुलित भएन, बजेटमा मधेशको अपमान भयो भन्ने धेरै माननीयको विरोध थियो’, एक सांसद भन्छन्, ‘प्रधानमन्त्रीले सम्बोधन गर्छु, मलाई विश्वास गर्नुस् भन्नुभयो ।’

त्यसपछि जसपाले ह्वीप जारी गर्‍यो । संसदीय दलका प्रमुख सचेतक प्रदीय यादवले जारी गरेको ह्वीपको सूचनामा बजेट पास गर्ने सर्वसम्मत निर्णय भएको उल्लेख गरिएको छ र जसपाका सबै १२ जना सांसदले हस्ताक्षरसमेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका नेताहरुसँग पनि सम्वाद गरेका थिए । तर उसले मत दिएन । तर सरकारमा भएका ५ दल कांग्रेस, माओवादी, जसपा, जनमत, लोकतान्त्रिक समाजवादीका साथै राष्ट्रिय जनमोर्चाले मत दिने भएपछि बहुमत (१३८) सहजै कट्ने भयो र प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट पास भएको छ । साभार अनलाईन खबर

Related posts

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik

नेपाल राष्ट्रबाद संघ द्वारा राजा आउ दैश बचाउ भन्दै वीरगंज मा पर्दशन

hamronepaldainik

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो

hamronepaldainik
HamroNepalDainik