HamroNepalDainik.com
समाचार

समाजले नस्वीकारेको कारण बाच्नका लागि यौनकर्मी बन्नुपर्ने बाध्यता हो : तेश्रोलिङ्गी

वीरगंज १४ असार । सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बुले तेश्रोलिङ्गीहरुलाई समाजले नस्वीकारको कारण बाध्य भएर यौन पेशमा लाग्नु परेको गुनासो पोखे । यौनपेशामा लाग्दा प्राणघातक विभिन्न रोगको सिकार बन्नु परेकोले रहरले नभई समाजले नस्वीकारेको कारण बाध्य भएर तेश्रोलिङ्गीहरु यौन पेशामा लाग्नुपरेको दुःखेसो पोखे । यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था सहयात्री समाज नेपालका अनुसार समाजमा खुलेर आएका तेश्रोलिङ्गीको संख्या पर्सा जिल्लामा ५ सय भन्दा बढी छ भने समाजमा खुलेर नआउनेहरुको संख्या अझ त्यो भन्दा बढि नै रहेको छ । ती मध्ये व्यवसायिक रुपमै यौनपेशामा करिब २ सयको हाराहारीमा संलग्न छ । तर हाल आफु यौनपेशामा रहेको खुलेरै बताउनेहरुको संख्या भने १०/१२ जना मात्रै रहेको लिम्बु बताउछन् ।

समाज र घरपरिवारले समेत पहिचान नस्वीकारेकाले तेश्रोलिङ्गीहरु जीवन यापन गर्नका लागि काम वा रोजगारी माग्दा तेश्रोलिङ्गी भएकै कारण रोजगारी नपाएपछि बाध्य भएर कतिपय तेश्रो लिंगीहरु यौनकर्मी बन्न बाध्य हुने गरेको तेश्रो लिंगी महिला सन्जु बताउँछिन् । ‘एक त आफ्नै घरपरिवारले हामीलाई स्वीकार्दैन, समाजमा पनि छक्का, हिजडाँ भनेर हेला गर्छन्’ बाँच्नका लागि काम गर्नुपर्ने हुन्छ तर तेश्रोलिङ्गी भएकै कारण काम पनि पाउँदैन, त्यसैले बाध्य भएर कतिपय साथीहरु बाँच्नकै लागि यौन पेशा अगाँल्छन् । अर्की तेश्रो लिंगी महिला दिपिका भन्छिन् ‘ठूला आलिशान होटलमा हुने गोष्ठी-सेमिनारमा भाषण गर्नेहरुले नै रोजगारी दिदैन’ । ठूलठूलो भाषणको क्रममा ‘यौन पेशा गलत हो, यसले समाज बद्नाम हुन्छ, यौन पेशा छोड्नुस्, अरु काम वा जागिर गर्नुस्’ भन्छन् तर ति नै व्यक्तिसँग जागिर माग्न जाँदा तेश्रोलिङ्गी भनेर जागिर नदिने गरेको गुनासो पोखिन् ।

सहयात्री समाजमा कार्यरत समेत रहेकी दिपिका यौन पेशामा लागेका तेश्रो लिंगीहरुलाई पेशा छाडेर अरु कुनै काम गर्न आफुहरुले निरन्तर काउन्सिलिङ गर्दै आएको बताउछिन् । तर उनिहरुले कि त हामीलाई अरु कुनै काम वा जागिर खोजी देउ होइन भने बाँच्नका लागि कुनै आधार देउ भन्छन्, हामी रहरले होइन बाध्यताले यौनकर्मी बन्नु परेको पनि बताउछन्, दिपिकाले भनिन् । नेपालमै काठमाडौंपछि पर्सामा सबै भन्दा बढी तेश्रोलिङ्गीको संख्या रहेको सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बु बताउँछन् । अधिकांश तेश्रोलिङ्गीहरु विभिन्न विहे, भोजभेतर जस्ता उत्सव र समारोेहमा हुने आर्केष्टा (नाँचगान) समुहमा काम गरेर जीवन गुजारा गरिरहेको लिम्बु बताउँछन् । उनी भन्छन्, ‘पर्सामा समाजमा खुलेर आएका ५ सय भन्दा बढि तेश्रोलिङ्गी छन्, उनीहरु मध्ये ६ जनाले मात्रै सहयात्री समाजमा जागिर पाएका छन्, अरु सबै जना काम वा जागिर नपाएकाले आर्केष्टामा नाँचेर जीवन चलाई रहेका छन् भने कतिपय यौनकर्मी बनेर जीवन यापन गरि रहेका छन् ।

तेश्रो लिंगी ममता कहिले काँही प्रहरीबाट पनि आफुहरु दुव्र्यवहारमा पर्ने गरेको दुःखेसो पोखिन् । उनि भन्छिन्, ‘म यौनकर्मी होइन तर विहे भोजभतेरमा हुने आर्केष्टा नाँचेर अबेरराति घर वा डेरामा फर्किदा बाटोमा भेटिने प्रहरीले यौनकर्मी होस् भनेर गाली गर्ने, नराम्रो वचन लगाउँछन् ।’ कहिलेकाही त पक्राउ गरेर रातभर थुनेर भोलिपल्ट बिहान मात्रै छाड्ने गरेको बताउँछिन् । नेपालमा तेश्रोलिङ्गीहरुको जीवन यापनका लागि सरकारले आजसम्म केही नगरेको ममताको गुनासो छ । उनी भन्छिन्, ‘अहिलेसम्म् जेजति काम भएको छ त्यो सबै विदेशी दाताले गरेका हुन्, तर नेपाल सरकारबाट हाम्रो लागि केही पनि भएको छैन । समाजबाट बहिष्कृत तेश्रोलिङ्गीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सहयात्री समाज नेपालले गत बैशाखमा पर्साका १४ वटै पालिकामा पुगेर सीपमुलक तालिमका लागि ज्ञापनपत्र बुझाएको संयोजक लिम्बुले जानकारी दिए ।

उनका अनुसार त्यति गर्दा पनि पालिकाहरुबाट अहिलेसम्म त्यसको कुनै जवाफ आएको छैन । सीपमुलक तालिम पाएमा तेश्रोलिङ्गीहरु काम वा जागिरका लागि अन्यत्र धाउनुपर्ने वा यौन पेशामा लाग्नुपर्ने बाध्यताको अन्त्य हुने लिम्बुको विश्वास छ । लिम्बुका अनुसार पर्सा जिल्लामा एच.आइ.भी. एड्सबाट संक्रमित भइ नियमित औषधी सेवन गर्नेको संख्या ६ सय भन्दा बढि छ, ती मध्ये तेश्रो लिंगीको संख्या मात्रै १ सय छ ।

Related posts

एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण

hamronepaldainik

प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भिडियो सहित

hamronepaldainik

पटेर्वा सुगौली गाँउपालिकाको ११ औँ गाउँ सभा : ३८ करोड १५ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik