HamroNepalDainik.com
समाचारस्थानिय

मुख्य नालामाथी बनेको क्लासिक होटलमा पनि चल्यो डोजर

वीरगञ्ज, २ साउन
वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि बनेको क्लासिक होटलको भवन हटाउन डोजर लगाएको छ ।
होटलको संरचना मुख्य नालामाथी निर्माण हुँदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो ।
नालामाथि बनेको संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेर नहटाएपछि महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरको टोलीले डोजर लगाएर हटाउन सुरु गरेको हो ।
महानगरले नालामाथि बनेको हरिखेतानको बाँकी संचरना हटाएर क्लासिक होटलको संरचना हटाउन सुरु गरेको हो । नालामाथि बनेको हरिखेतानको संरचना गएको असार २५ गते डोजर लगाएर हटाएको थियो । क्याम्पसको केही संरचना अझै पनि बाँकी रहेकाले आज पनि डोजर लगाएर हटाइएको हो ।
क्लासिक होटल नालामाथि नै रहेकाले त्यसलाई हटाउन आजबाट डोजर चलाइएको महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।
क्लासिक होटलको सामुन्ने रहेको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पनि पहिले नै सूचना दिएको भए पनि अझै सम्म नहटएकाले त्यसलाई पनि डोजर लगाएर हटाइने उनले बताए ।
महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ ।
जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ ।
क्लासिक होटलको उत्तरतर्फ र कर्पोरेट बैंकको दक्षिणतर्फ रहेको मुख्य नाला पूर्ण रुपमा सफाई हुँदा पनि ती दुबै भवन नहट्दा मुख्य नाला सफाईमा अवरोध पुगेको छ ।
यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ ।
वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।
गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् ।
वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगञ्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ ।

Related posts

कालिकामाई ३ मा एकै दिन स्केब कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

hamronepaldainik

देशभरका सिमानाका खोल्ने सरकारको निर्णय, भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न सक्ने !

hamronepaldainik

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन

hamronepaldainik
HamroNepalDainik