HamroNepalDainik.com
समाचारस्थानिय

सांसद यादव र मेयर सिंहको पहलपछि हट्यो नेपाली गाडीलाई रक्सौल जानु पूर्व पास लिनुपर्ने प्रावधान

वीरगञ्ज । नेपालबाट वीरगञ्जको बाटो हुँदै भारतीय सहर रक्सौल प्रवेश गर्न चार पाङग्रे (चक्के) गाडीलाई अब विशेष पास नलिनुपर्ने भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहल पश्चात् रक्सौल बजारमा सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको हो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेत समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले सीमावर्ती भारतीय सहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूसँग पहल गरेका थिए ।

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पासको प्रावधानले नेपालीहरूलाई सास्ती हुने बताउँदै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए । उनले भारतीय सहर रक्सौलसँग वीरगञ्जवासीको सम्बन्ध व्यावसायिक मात्र नभई पारिवारिक र धार्मिकसमेत रहेकोले यस्तो प्रावधानले दुवै देश बिचको सम्बन्धमाथि नै असर पर्ने बताएका थिए ।

त्यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि पास लिनुपर्ने प्रावधान झन्झटिलो र व्यवहारिक नदेखिएको बताउँदै त्यसलाई फिर्ता लिन भारतीय भन्सार कार्यालयका अधिकारीहरूसँग आग्रह गरेका थिए ।

सांसद यादव र मेयर सिंहको आग्रह पश्चात् भारतीय भन्सार विभागले नेपाली नम्बर भएको चार पाङ्ग्रे (चक्के) गाडीलाई पास लिनुपर्ने प्रावधानलाई हटाएको छ । अहिले नेपाली चार चक्के गाडीहरू सहजै रक्सौलसम्म गइरहेका छन् ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले पनि नेपाली नम्बर प्लेटको गाडीलाई दूतावास पुगेर पास लिनुपर्ने लगायतका सम्पूर्ण प्रावधान हटाइएको बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पहिला जस्तै नेपाली चार चक्के गाडी रक्सौलसम्म बिना कुनै झन्झट प्रवेश गर्न पाउने जानकारी दिए ।

यसअघि मङ्गलवारदेखि नेपाली नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासबाट विशेष अनुमतिसहितको पास लिनुपर्ने प्रावधान लागु भएको थियो । प्रावधान लागु भएसँगै पारिवारिक तथा अन्य विशेष कामले रक्सौल जाने नेपालीहरूलाई सास्ती भोग्नु परेको थियो ।

Related posts

बिरगंज महानगरपालिका वडा नं.१९ को अध्यक्ष पदका उमेदवार तिवारी लोकप्रिय बन्दै

hamronepaldainik

नेपाली मुद्रा लगातार कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

hamronepaldainik

पेसागत महासंघ पर्साकाे जिल्ला भेला सम्पन्न, अध्यक्षमा सिंह र कोषाध्यक्षमा सहनी

hamronepaldainik
HamroNepalDainik