HamroNepalDainik.com
शिक्षासमाचार

सत्यम पब्लिक कलेजमापनि महानगरको सिलबन्दी

वीरगञ्ज, २१ भदौ
वीरगञ्ज महानगरपालिकाले बिहीवार थप २ वटा कलेजमा सिलबन्दी गरेको छ । शैक्षिक संस्थाहरुलाई नियमन गर्न अनुगमन गर्ने क्रममा अनुमति नलिएर सञ्चालनमा रहेका २ वटा कलेजमा महानगरपालिकाले सिलबन्दी गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित सत्यम पब्लिक कलेज र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवले जानकारी दिए ।
वीरगञ्ज ८ पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले बताए ।

सत्यम कलेजले रानीघाटस्थित शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको भेटिएको पनि उनले  दिए ।
निजी शैक्षिक संस्थाहरुको छाता संगठन र शैक्षिक संस्थाहरु नियमअनुरुप संचालन हुनु पर्छ भनेर आवाज उठाउनेहरु नै गैर कानुनी रुपमा फर्जी कलेज संचालन गरिरहेको भेटिएको छ । एनप्याब्सनसँग आवद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई विक्री गरेर संचालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको शिक्षा महाशाखाका अधिकृत नारायण चापागाईँ बताए ।
महानगरले शिक्षा क्षेत्र सुधारका लागि अहिले कडा रुपमा प्रस्तुत भएर अनुगमन र कारबाही दुबैलाई सँगसँगै अघि बढाएको भन्दै उहाँले अब कुनै पनि बहानामा अनधिकृत रुपमा संचालनमा रहेका शैक्षिक संस्थालाई नछाडिने चेतावनी पनि दिएका थिए ।

समितिका संयोजक यादव नेतृत्वको अनुगमन टोलीले बिहीबार नै न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्ने लिएको अनुमतिलाई दुरुपयोग गर्दै अन्य ठाउँमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरीरहेको पर्सा म्यानेजमेन्ट कलेजमा पनि सिलबन्दी गरेको छ ।
समितिका संयोजक यादवसँगै वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा सल्लाहकार अभिषेक तिवारी, शिक्षा अधिकृत नारायण चापागाइँ, संचारकर्मी तथा स्थानीय प्रतिनिधि लगायतको टोलीले शैक्षिक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिएको छ ।
समितिले यस अघि मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको प्रिन्सटन मोडेल एकेडेमी र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको थियो ।
सोमवार अन्नपूर्ण कलेज र युनिभर्सल एकेडेमीमा सिल गरेको थियो भने त्यसअघि वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजि बी किड्समा सिल गरेको थियो ।

Related posts

राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

hamronepaldainik

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो दरबन्दी बाहेकका कर्मचारीको विवरण

hamronepaldainik

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मुखियाका कारण सेवाग्रहीहरु पिडित

hamronepaldainik
HamroNepalDainik