वीरगंज २३ भदौ ।
पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाको जिन्सी शाखाबाट कर्मचारीहरुले नै रातिको समयमा समानहरु चोरी गरिरहेको घटना सार्वजनिक भएको छ ।
जिन्सी शाखा प्रमुख हरि मोहन महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएको बताईएको छ ।
घटना भदौ २१ गते राति करिब ८ः३० बजेको हो । पालिकाका कार्यालय सहयोगी कुर्मी र सहायक कम्प्यूटर अपरेट धनन्जयले पालिकाको जिन्सी शाखा खोली शाखामा रहेको व्याग र रैनकोट निकाल्न लाग्दा स्थानिय युवाहरुले देखेपछि हो–हल्ला गरेका थिए । हल्ला भएपश्चात केही सामान्य बिवाद समेत भए पनि कार्यालय सहयोगीले सो सामान कार्यालयमै फिर्ता राखी भागेको सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा प्रष्ट देखिन्छ ।
यो घटना भने पहिलो होईन, यस भन्दा अगाडि पनि रातिकै समयमा कार्यालय खोली जिन्सी शाखा प्रमुख महतो र कार्यालय सहयोगी मुनाले विभिन्न सामग्रीहरु निकालेर घर लगेको समाचार स्रोतले जनाएको छ । भदौ १९ र २० गते राति पनि जिन्सी प्रमुख महतो र कार्यालय सहयोगी मुन्नाले कार्यालय खोलेर विभिन्न फाईलहरु लगेको कार्यालय सहयोगी मुन्नाले स्विकार गरेका छन् ।
पालिकाले जनताको लागि खरिद गरिएको सामग्रीहरु कर्मचारीहरुले नै चोरेर आफ्नो घर लग्दा स्थानीयले रोकेका थिए ।
सो विषयमा कार्यालय सहयोगी मुना सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा आफुलाई जिन्सी शाखा प्रमुख हरि सरले कार्यालयको सामग्री मिलाउन भने पछि रातिको समयमा कार्यालयमा गएको बताए । साथै पालिकाले सम्पूर्ण कर्मचारीहरुलाई एक÷एक थान व्याग र रैनकोट वितरण गरेको र आफ्नो बाकी रहेकोले रातिको समयमा सो सामग्री लिन गएको स्वीकार गरे ।
सो सम्बन्धमा जिन्सी शाखा प्रमुख हरि मोहन महतो सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले खरिद गरेको बल्ब र तारहरु किनेर मगाएकोमा कर्मचारीहरुले नास्ता गर्दा ढिलो भए पछि रातिको समयमा राख्न पठाएको बताए । कार्यालयमा रहेको वाईफाई बन्द गरेपछि स्थानियहरुले बिरोध जनाएको भनि चोरीको घटनालाई ढाकछोप गर्दै आफ्नो चोरीको कालाकर्तुतहरु लुकाउन खोजेका थिए ।