२५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ ।
सोमबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् ।
मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरुमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेका छैनन् ।
दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख छ ।