HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

वीरगंज महानगरद्वारा कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति

वीरगंज, २० पुष
वीरगञ्ज महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ९ र ११ का विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति पत्र वितरण गरेको छ ।
त्रिजुद्ध माविमा आयोजित कार्यक्रमकाबीच महानगर प्रमुख राजेशमान सिंहले विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गरेका हुन ।
सिफारिस पत्र प्रदान गर्दै महानगरपालिकाका प्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई अझै मेहनतका साथ अध्ययन गर्न आग्रह गरेका थिए । उनले कसैको सिफारिस र भनसुनमा नभई अघिल्लो कक्षामा ल्याएको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) ल्याउन सफल भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको पनि बताए ।
‘कसैको सिफारिस र भनसुन हामीले सुनेनौँ, जसले आज छात्रवृत्ति प्राप्त गरिरहनु भएको छ उहाँहरुको मेहनत र परिश्रमले प्राप्त गरेको नतिजा नैँ हामीले पस्केका हौँ,’ उनले बताए ।
उनले अघिल्लो कक्षामा प्राप्त गरेको लब्धांकलाई नै आधार मानेर सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) ल्याउन सफल भएका भाइबहिनीहरु नै यो छात्रवृत्तिको हकदार बनेको प्रष्ट पारेका थिए  ।
आउँदा दिनमा पनि उत्कृष्ट नतिजा हात पार्न अध्ययनमा अझै परिश्रम गरि विरगंजकै नाम रोशन गर्न पनि विद्यार्थीहरुलाई उनले सुझाव दिएका थिए ।
कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले मेहनती र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि महानगरले छात्रवृत्ति उपलब्ध गराएको भन्दै छात्रवृत्तिको सम्मान कायम राखिराख्न अध्ययनमा कमजोरी नगर्न सुझाव दिए ।
उनले यस पटक महानगरले अघिल्लो कक्षामा ल्याएको अंकलाई नै आधार बनाएर माथिल्लो अंक (जीपीए) ल्याउन सफल विद्यार्थीलाई छनौट गरिएको भन्दै यसमा कसैको भनसुनमा काम नगरेको स्पष्ट पारेका थिए ।
विद्यार्थीले एसईई र कक्षा ८ मा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको महाशाखा प्रमुख कर्णले बताए । छात्रवृत्ति प्राप्त गर्नेमा ३७ प्रतिशत जेहेन्दार, ३६ प्रतिशत विपन्न, १० प्रतिशत जनजाति, ५ प्रतिशत दलित, ३ प्रतिशत अपाङ्गता र ९ प्रतिशत शहीद, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्तति छन् ।
गएको वर्ष महानगर आफैले परीक्षा लिएर छात्रवृत्ति वितरण गर्दा चलखेल भयो भन्ने गुनासो सुनिएको भन्दै उहाँले भन्नुभयो, ‘परीक्षा लिएर छनोट गर्दा अपारदर्शी हुन सक्ने, विद्यार्थी र अभिभावक स्वमंले छनोटमा आशंका गर्न सक्ने अवस्था रहेकाले नै अघिल्लो कक्षामा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै आधार बनाएर पारदर्शी रुपमा छनौट गरिएको हो ।’
यस पटक महानगरले आवेदन माग गर्दा कक्षा ८ र एसईईको ग्रेड सिटसहित अपाङ्गता भएका विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, शहीद, जनआन्दोलनका घाइतेका, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, गरिब तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीको हकमा वडा कार्यालयको सिफारिस समावेश गर्न भनेको थियो ।

महानगरले छात्रावृत्तिका लागि सिफारिस गरेको पत्रको आधारमा विद्यालयले पूर्ण निशूल्क अध्यापन गराउनु पर्ने छ ।
महानगरले कक्षा ९ मा १९० जना र कक्षा ११ मा ५९२ जनालाई पूर्ण निशुल्क अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको हो ।
छात्रवृत्ति पत्र वितरण कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, ४ का जगत साह कानु, ५ का प्रदीप चौरसिया, १६ का प्रसुराम चौरसिया, महानगर शिक्षा समितिका सदस्यहरु, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको थियो । छात्रवृत्ति पत्र वितरण कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत आनन्द लामिछानेले गरेका थिए  ।

Related posts

नेता चौरसियाको घरदैलो कार्यक्रम सम्पन्न

hamronepaldainik

सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा शिलबन्दी

hamronepaldainik

नारायणी अस्पतालका डाक्टर चौरसिया अहिले मानवीय सेवामा सक्रिय

hamronepaldainik
HamroNepalDainik