वीरगंज ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नारायणी अस्पतालामा पिएनसी वार्डको निर्माणले अस्पतालमा बिरामीको उपचार र सेवामा थप सहजता पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वीरगंज स्थित नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा २० शैयाको सुविधा सम्पन्न पोष्ट नेटल केयर (पिएनसी) वार्ड आईतवार उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपराष्ट्रिपति यादवले सरकारी अस्पतालको पूर्वाधार र सेवाको गुणस्तर विस्तारमा सरकार संगै नीजी क्षेत्रको सहकार्य बढ्दै गएकोमा खुशी व्यक्त गरे । उनले बिरामीले गुणस्तरीय उपचार पाउनका लागि सरकारी अस्पतालको पूर्वाधार संगै सेवा पनि चुस्त बनाउन आग्रह गरेका थिए । उपचारको लागि आउने बिरामी र कुरुवाहरुलाई सहजता प्रदान गर्न सुझाउदै उनले गुणात्मक सेवा नै अस्पतालको ध्येय हुनु पर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले वीरगंजमा मधेस प्रदेशकै एक मात्र टर्सरी अस्पताल छिट्टै निर्माण हुने बताए । उनले भने, ‘वीरगंजमा छिट्टै संघीय सरकारले प्रदेशकै एकमात्र टर्सरी अस्पताल निर्माण गर्दैछ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्रकृया अगाडि बढाइसकेको छ ।’
केएनपी जापान प्रालिले करिब ४५ लाख रुपैयाको लागतमा जापानी प्रविधि मार्फत निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको सो वार्ड आइतबार उपराष्ट्रपति यादवले उदघाटन गरे संगै सञ्चालनमा आएको अस्पतालका मेसु डा. चित्तरञ्जन साहले बताए ।
उनले यसअघि अस्पतालमा ६९ शैयाको प्रसूती विभाग सञ्चालनमा थियो । प्रसूती गराएपछि आमा र शिशुलाई कम्तिमा २४ घण्टा अस्पतालमै राख्नुपर्ने नियम भएपनि पिएनसी वार्ड नहुदाँ तत्कालै डिस्चार्ज गर्नुपर्ने बाध्यता थियो । तर अब पिनएसी वार्ड सञ्चालनमा आएपछि आमा र शिशुलाई सो सेवा दिन सहज हुने मेसु साहले बताए ।
अस्पतालको प्रसूती विभागमा पिएनसी वार्डको अभावमा सुत्केरी महिलाको उपचारमा समस्या भएको जानकारी आएपछि केएनसी जापान प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत ४५ लाख रुपैयाँको लागतमा सो वार्ड निर्माण गरिएको जनाईएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री तथा जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादव, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य अजय चौरसिया, प्रतिनिधी सभा सदस्य प्रभु हजरा, प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री र श्याम पटेल, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम लगायतको सहभागिता रहेको थियो ।