HamroNepalDainik.com
शिक्षासमाचार

विद्यार्थी सँगै अभिभावकसँग भेट्दै मेयर : सिंह

  • वीरगंज
    वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गराउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
    यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) मा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी तथा अभिभावक सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
    महानगर प्रमुख सिंहले आजबाट विद्यार्थीका अभिभावकसँग विद्यालयमै पुगेर भेट्ने अभियान नै सुरु गरेका  छन्।
    शुक्रबार आज विर्तामा रहेको श्री सुन्दरमल रामकुरमा कन्या माद्यमिक विद्यालयमा आगामी वर्ष एसईई दिने कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर छलफल गर्दै विद्यालयमा मात्रै नभई अभिभावकले घरमा पनि आफ्ना सन्ततीको पढाइको बारेमा चासो लिनु पर्ने बताए । विद्यार्थीको शैक्षिक गुणस्तु वृद्धि गराउन विद्यालयको भौतिक संरचना, शिक्षक व्यवस्थापन तथा शैक्षिक सामग्री उपलब्ध गराउन महानगर तत्पर रहेको र शिक्षकले पनि तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउन आवश्यक रहेको बताए। उनले आफ्नो पठन पाठनका बारेमा विद्यार्थी आफै र उनका अभिभावक चनाखो भएर लागे गुणस्तर वृद्धि हुन समय नलाग्ने पनि बताए।
    प्रमुख सिंहले भने, ‘सामुदायिक विद्यालयहरूलाई आवश्यक सहयोग गर्न महानगर सँधै प्रयासरत रहे पनि एसइईको नतिजा सन्तोषजनक हुन सकेन, तर आगामी दिनमा पनि यस्तै नतिजा नदोहोरियोस भनेर अभिभावकलाई पनि जिम्मेवार बनाउन प्रयास गरेका हौँ ।’
    सामुदायिक विद्यालयमा अध्ययन गर्न पठाउने अभिभावकले आफ्ना सन्ततीका बारेमा चासो नराखेको र विद्यालयमा कसरी पढाइ हुँदै छ भन्ने बारेमा पनि कहिल्यै जानकारी लिने नगर्दा शैक्षिक स्थिति विग्रिएको आफूले पाएको उनले बताए ।
    विद्यार्थीका बारेमा जानकारी दिन विद्यालयमा बोलाउँदा पनि उनीहरुका अभिभावक उपस्थित नहुने गरेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । आज पनि अधिकांस अभिभावकहरु अनुपस्थित रहेका थिए ।
    अब हरेक विद्यालयमा पुगेर अभिभावकसँगै उनीहरुका सन्ततीको अध्ययनका बारेमा जानकारी लिने अभियान नै थालेको महानगर प्रमुख सिंहले बताए । महानगरको तर्फबाट कुनै कमी कमजोरी भए त्यसलाई सुधारेर अघि बढ्न आफू तयार रहेको भन्दै उनले त्यसका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको पनि बताएका थिए ।
    वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा पठन पाठन सुधार गर्न सबैको चासो हुनु पर्नेमा जोड दिए ।

Related posts

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

hamronepaldainik

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

hamronepaldainik

बिराट कुस्ती प्रतियोगिता सम्पन्न

hamronepaldainik
HamroNepalDainik