वीरगंज । जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिका वडा नम्बर १९ एकाई कमिटीले बडादशैँ, दीपावली, नेपाल संवत् ११४५ एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले यो कार्यक्रममा सहभागिता जनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताउदै सम्पूर्ण देशवासीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । उनले यी चाडहरूले हाम्रा समाजमा भाइचारा, एकता र सहिष्णुताको भावना थप सुदृढ गर्दै समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून् भन्ने कामना समेत गरेका थिए । प्रमुख अतिथि यादवले बिन्दवासिनीमा बन्द अवस्थामा रहेको पानी टंकीलाई तुरुन्त पानीको सप्लाई सुरु गराउन लागि परेको बताए ।
सो कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यस वडामा रहेको बिन्दवासिनीमाई मन्दिरको सौन्दर्यकरणको लागि २५ करोडको लागत मा डिपियार तयार गरिएको बताउदै यस वडाको जुन घरमा शौचालय छैन सो घरमा शौचालय बनाउन योजना ल्याएको बताएका थिए ।
सल्लाहकार समितिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जसपाका जिल्ला सदस्यहरू हिरालाल यादव, उपेन्द्र राय भर, सुरेन्द्र लाल साह, क्षेत्र नम्बर २ का सचिव अमित यादव, एकाइ उपाध्यक्ष असर्फी महतो, सचिव रामअसिस यादव लगायतकाले शुभकामना मनतव्य राखेका थिए ।
सो अवसरमा वडा सदस्यहरू उपेन्द्र यादव, बिनोद चौरसिया, सुरसती देवी, माया कोईरी, पूर्व वडा सदस्य लोटन महतो कोईरी, मोहम्मद मुस्तुफा, रामप्रवेस चौरसिया, नरेश यादव, जितेन्द्र यादव, दिनेश साह कलवार, नेपाली काङ्ग्रेसका नेता शिवनारायण साह कलवार, शिवलाल यादव, अवधलाल यादव लगायतको सहभागिता रहेको थियो ।