वीरगन्ज : पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुरस्थित कलश क्याटल फार्ममा अलपत्र परेका गाईहरूलाई आइतबारदेखि दानापानी खुवाउन सुरु गरिएको छ। फार्मका सञ्चालकहरू ४/५ महिनादेखि सम्पर्कविहीन भएपछि दानापानी खान नपाएर २०४ वटा गाईहरू केही हप्तादेखि अलपत्र परेका थिए।
दानापानी खान नपाएर फार्ममा गाई र बाच्छाबाच्छीहरू बिरामी पर्नुका साथै मर्न थालेपछि ठोरी गाउँपालिकाको न्यायिक समितिमा स्थानीयले फार्मका अध्यक्ष इश्वरलाल जोशी, सञ्चालकद्वय श्यामवदन यादव र गुरु भट्टविरुद्ध उजुरी दिएका थिए। यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि तीनै जना सञ्चालकलाई फोन गरेर फार्ममा पुगेर गाईहरूको रेखदेखमा लाग्न निर्देशन दिएका थिए।
आइतबार ठोरी गाउँपालिकाको कार्यालयमा न्यायिक समितिले तीनै जना सञ्चालकहरूलाई बोलाएर छलफल गर्यो। पर्साका प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मीसहितको छलफलमा फार्मका अध्यक्ष जोशी तथा सञ्चालकद्वय यादव र भट्टलाई गाईहरूलाई अलपत्र नपार्न सचेत गराइएको थियो।
साथै तत्काल फार्ममा गएर गाईहरूको रेखदेख गरेर दानापानी खुवाउन र औषधि उपचार गर्न पनि उनीहरूलाई निर्देशन दिइएको थियो। अन्यथा फार्मका गाईहरू किसानलाई वितरण गर्ने र त्यसबापतको खर्च सञ्चालकहरूबाट असुलउपर गरिने चेतावनीसमेत दिइएको थियो। छलफलमा प्रजिअ अर्याल र गाउँपालिका अध्यक्ष श्रेष्ठले फार्ममा अलपत्र पारिएका गाईहरूलाई अब पनि भोकभोकै राखे तीनै जना सञ्चालकलाई ठोरी गाउँपालिकाबाट बाहिर जान नदिने र प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।
त्यसपछि तीनै जना सञ्चालकहरूले गाईहरूलाई तत्कालका लागि दानापानी खुवाउन र औषधोपचार गर्न तथा ५ महिनादेखि रोकिएको फार्मका कर्मचारीहरूको ज्याला तथा किसानका बक्यौता भुक्तानी दिन ३० लाख रुपैयाँको कोष खडा गर्ने सहमति जनाए। उक्त कोषमा तीनै जना सञ्चालकले जनही १०/१० लाख रुपैयाँ जम्मा गर्ने र आइतबारदेखि नै फार्म सञ्चालनको जिम्मा सञ्चालक यादवले लिने लिखित सहमति जनाए।
उक्त सहमति लगत्तै तीनै जना सञ्चालकहरू आइतबार साँझ फार्ममा पुगेर गाईहरूको रेखदेख र दानापानी खुवाउन सुरु गरेका हुन्। फार्मका संस्थापक सञ्चालक यादवले साझेदारहरू बीचको आपसी विवादले फार्मका गाईहरू अलपत्र परेकोमा दुख व्यक्त गर्दै अब भने त्यस्तो हुन नदिने बताए। आफू फार्मको संस्थापक सञ्चालक र ५१ प्रतिशतको साझेदार भए पनि ऋण लिएको बैंकहरूको दबाबमा जोशीलाई अध्यक्ष बनाएर आफूलाई जिम्मेवारी विहिन बनाइएपछि आफू ७/८ महिनादेखि फार्ममा जान छोडेको उनले बताए।
आफू फार्ममा जान छाडेपछि अरू दुई सञ्चालक जोशी र भट्टले २/३ महिना आफूखुसी फार्म चलाएको र अवस्था झन् बिग्रिएपछि उनीहरू पनि फार्म र गाईहरू अलपत्र पारेर हिँडेको उनले बताए। जसका कारण फार्मका गाईहरू भोकभोकै पर्न थालेपछि फार्मका कामदार र गाउँलेले जसोतसो गरेर गाईहरूलाई पालेको उनले बताए।
तर आइतबारको छलफलमा तीनै जना सञ्चालकले आपसी विवाद हाललाई थाती राखेर गाईहरूको रेखदेख र सेवामा लाग्ने लिखित सहमति जनाएको उनले बताए। उनले भने,‘अब गाईहरू भोकै रहदैनन। यसको ग्यारेन्टी म लिन्छु। यो मेरो ड्रिम प्रोजेक्ट हो। यसलाई फेरि म जसरी पनि पहिलेकै अवस्थामा ल्याउन हरसम्भव प्रयास गर्नेछु।’
फार्मका अध्यक्ष तथा सञ्चालक जोशीले पनि फार्मका गाईहरूलाई अब भोकभोकै मर्न नदिने बताए। सुवर्णपुरमा करिब ६ वर्ष पहिले १२०० गाई पाल्ने गरि १४ बिघा जग्गामा कलश क्याटल फार्म स्थापना गरिएको थियो। दक्षिण एसियाकै दोस्रो ठूलो भनिएको उक्त थाई फार्ममा नबिल बैंक र ज्योति विकास बैंकले करिब ३४ करोड ऋण लगानी गरेकोमा त्यसको ब्याज थपिएर हाल ऋण करिब ४५ करोड पुगेको छ। अनलाईन खबर