१९ फागुन, बिरगंज । पर्साको कालीकामाई गाउँपालिको वडा नम्बर –४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा बिहान १०:१० बजे प्रार्थना सुरुभए लगत्तै कक्षा ६ कि एक छात्रा बेहोस् भइन् । उनलाई तत्कालै विद्यालयको अफिमा पुर्याएर प्राथमिक उपचार गरियो ।
‘चक्कर अएको जस्तो भएर ढलेकी थिइन् । विद्यालय नजिकै अस्पताल थियो । डाक्टर बोलाएर उपचार गर्यौं,’ विद्यालयका प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्मीले भने । ती छात्राको उपचार चलिरहेको थियो कक्षा १० को अर्को छात्रा पनि ढलिन् । विद्यालयले उनलाई पनि अफिसमा ल्याएर उपचार सुरु गर्यो । फेरि केहीबेरमा कक्षा ७ को अर्को छात्रा पनि बेहोस् भइन् । क्रमशः कक्षा, ८ र ६ का विद्यार्थी पनि एकपछि अर्कोगरी बेहोस् हुन थाले । यसरी नै १४ जना विद्यार्थी ढले ।
‘१३ जनाको उपचारपछि निको भयो तर कक्षा ९ का १ विद्यार्थी भने गम्भीर भएपछि एम्बुलेन्स बोलाएर मेडिकल कलेज वीरगञ्जमा पुर्यायौं । अहिले उपचार भइरहेको छ,’ प्रधानाध्यापक कुर्मीले भने ।
एकपछि अर्कोगरी विद्यार्थी ढलेपछि विद्यालयमा तनावको स्थिति बन्यो । ‘आजको कक्षा बन्द गरेर विद्यार्थीलाई घरमा पठायौं,’ प्रधानाध्यापक कुर्मीले भने । घरमा पुगेपछि पनि ४ जना विद्यार्थी बेहोस् भएको जानकारी प्रधानाध्यापक कुर्मीलाई आयो । के कारणले विद्यार्थी यसरी ढले भन्नेमा पहिचान नभएको उनले बताए ।
‘मेडिकल रिपोर्ट आएको छैन । के कारण हो पहिचान भएको छैन । एक जना ढलेको देखेर अरू पनि ढलेको हुन सक्छ,’ प्रधानाध्यापक कुर्मीले भने ।घरमा गएका विद्यार्थी पनि बेहोस् भएर ढलेपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको छ । ‘भोलि र पर्सिका लागि बिदा दिएका छौं । सबै राम्रो भयो भने बिहीबारदेखि कक्षा सञ्चालन गछौं,’ प्रधानाध्यापक कुर्मीले भने ।