वीरगञ्ज । वीरगञ्ज जेसीजले आफ्नो वार्षिक सप्ताहव्यापी महत्त्वाकाङ्क्षी कार्यक्रम “जेसीज सप्ताह २०२५” को पाँचौँ दिन पर्सागढी नगरपालिका – ८ मा “दलित बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग कार्यक्रम” सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व र शैक्षिक सशक्तीकरणको उद्देश्य बोकेको कार्यक्रममा ५० जना दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सृजनात्मक समाज फाउन्डेसन नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रम पर्सागढी – ८ मा सञ्चालित निःशुल्क ट्युसन केन्द्रमा सम्पन्न भएको हो । ट्युसन केन्द्रले दलित समुदायका बालबालिकालाई नियमित शैक्षिक सहयोग प्रदान गर्दै आएको छ । उक्त कार्यक्रममा ट्युसन केन्द्रका संयोजक चन्द्र किशोर राम, वडा नम्बर ८ का जनप्रतिनिधि, सामाजिक अगुवा, र स्थानीय अभिभावकहरूको उपस्थितिमा कापी, कलम, झोला, जियोमेट्री बक्सलगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
वीरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरू गणेशमान श्रेष्ठ, अशोक गुप्ता, डा. अरविन्द श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, मनोनीत पदाधिकारीहरू, र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जेसीजका महासचिव रवीन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक रामानन्द चौधरीले व्यक्त गरेका थिए । मन्तव्यका क्रममा चौधरीले दलित बालबालिकाको शैक्षिक स्तर उकास्न र उनीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा उपस्थित वडा नम्बर ८ का जनप्रतिनिधिले वीरगञ्ज जेसीज र सृजनात्मक समाज फाउन्डेसनको पहलको प्रशंसा गर्दै यस्ता सहयोगले बालबालिकाको भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ट्युसन केन्द्रका संयोजक चन्द्र किशोर रामले शैक्षिक सामग्री प्राप्त गरेपछि बालबालिकामा उत्साह थपिएको र उनीहरूको पढाइप्रति रुचि बढेको बताए ।
वीरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले जेसीज सप्ताह २०२५ को मुख्य उद्देश्य सामाजिक सशक्तीकरण र समुदायको उत्थान रहेको उल्लेख गर्दै दलित बालबालिकाको शिक्षामा सहयोग पुर्याउनु कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
वीरगञ्ज जेसीजले प्रत्येक वर्ष आयोजना गर्ने जेसीज सप्ताह सामुदायिक विकास, नेतृत्व तालिम, र सामाजिक जागरूकताका लागि परिचित छ ।